दफा २३
विरामी बिदा

(१) न्यायाधीशले प्रत्येक वर्ष बाह्र दिनका दरले पारिश्रमिक सहितको विरामी बिदा पाउनेछ ।

(२) उपदफा (१) बमोजिमको विरामी बिदा नलिएमा सञ्चित हुँदै जानेछ ।

(३) उपदफा (२) बमोजिम सञ्चित रहेको बिरामी बिदा बापत न्यायाधीशले सेवाबाट निवृत्त हुँदाका बखत आफूले खाईपाई आएको मासिक पारिश्रमिकले हिसाब गर्दा हुन आउने रकम एकमुष्ट लिन पाउने छ ।

(४) न्यायाधीशले कुनै ठूलो र कडा रोग लागि स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गरेमा विरामी बिदा बाँकी नभए पनि दुई महिनासम्म पारिश्रमिक सहितको र त्यस्तो पारिश्रमिक सहितको थप विरामी बिदा लिइसकेपछि एक पटकमा थप चार महिनासम्म र सेवाको अवधिभरमा जम्मा बाह्र महिनामा नबढ्ने गरी बिना पारिश्रमिकको विरामी बिदा पाउन सक्नेछ ।

तर त्यसरी पारिश्रमिक सहितको थप विरामी बिदा लिँदा प्रत्येक दुई दिन थप विरामी बिदा बापत एक दिनका दरले घर बिदाबाट कट्टा हुनेछ ।

(५) सात दिनभन्दा बढी अवधिको विरामी बिदा माग गर्ने न्यायाधीशले स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गर्नु पर्नेछ ।

तर त्यस्तो प्रमाणपत्र पेश गर्न साधारणतया सम्भव छैन भन्ने उच्च अदालतको मुख्य न्यायाधीशको हकमा प्रधानन्यायाधीशलाई र अन्य न्यायाधीशहरूको हकमा उच्च अदालतको मुख्य न्यायाधीशलाई विश्वास भएमा निजले सो व्यहोरा जनाई प्रमाणपत्र पेश गर्न नपर्ने गरी विरामी बिदा स्वीकृत गर्न सक्नेछ ।

(६) सञ्चित विरामी बिदा वा सो बापतको रकम लिन नपाउँदै न्यायाधीशको मृत्यु भएमा त्यस्तो रकम दफा १५ को उपदफा (१) बमोजिमको व्यक्तिले एकमुष्ट लिन पाउनेछ ।